श्राद्ध नियम
विषयसूची — ४ खण्ड
श्राद्धको विवेचना र यसको प्राचीन वैदिक अवधारणा
हिन्दू सनातन परम्परामा 'श्राद्ध' एउटा गहन धार्मिक कार्य हो, जुन श्रद्धा, कृतज्ञता र कर्तव्यबोधको प्रतीकस्वरूप सम्पन्न गरिन्छ। "श्रद्धया दीयते यत् तत् श्राद्धम्" अर्थात् श्रद्धा पूर्वक पूर्वजहरूपमा पितृहरूको स्मृतिमा अर्पण गरिने आहार, जल वा पिण्ड नै श्राद्ध हो। 'श्राद्ध' लाई 'पितृयज्ञ' पनि भनिन्छ, जुन पञ्चमहायज्ञमध्ये एक प्रमुख यज्ञको रूपमा वर्णित गरिएको छ।
भविष्यपुराणमा वर्णन गरिएअनुसार, देश, काल र पात्र अनुरूप श्रद्धा सहित ब्राह्मणलाई भोजन वा पिण्डदान गर्नु नै श्राद्ध हो। श्राद्धकल्प ग्रन्थका अनुसार मृतात्माहरू अर्थात् प्रेत र पितृहरूलाई श्रद्धा सहित मनपर्ने वस्तु अर्पण गर्नु नै श्राद्धको सार हो। यो कर्म केवल परलोकको कल्याण मात्र नभई कर्ताको लौकिक र पारलौकिक कल्याणका लागि पनि अनिवार्य मानिन्छ।
हिन्दू धर्मशास्त्र अनुसार श्राद्ध — पितृपक्ष
भाद्रपद पूर्णिमादेखि आश्विन कृष्णपक्ष औंसीसम्मका सोह्र दिनलाई पितृपक्ष भनिन्छ। जस दिन आमा–बुबाको देहावसान भएको हुन्छ, सोही दिन पितृपक्षमा तिनीहरूको श्राद्ध गरिन्छ।
धर्मशास्त्रमा श्राद्धको महत्वबारे एक प्रसंग आएको छ । यस अनुसार वर्षायामको अन्त्यमा यमराज गयामा आउँछन् र पितृहरूलाई मुक्तलोकमा पठाउँछन्। पितृहरूले आफ्ना छोराछोरी वा वंशजसँग आशा गर्छन् कि तिनीहरूले आफ्नो मृत पितृको लागि आवश्यक अन्न-पानी अर्पण गर्नेछन्। उनीहरूले अन्न-पानी श्राद्धमार्फत ग्रहण गर्छन्।
पूरा पखवाडा (१६ दिन) अर्थात् पितृपक्ष मा पितृहरू श्राद्धको आशामा पृथ्वीमा रहन्छन्। यदि श्राद्ध नगरिएको खण्डमा तिनीहरू दुखी भएर आफ्ना लोकमा फर्कन्छन्। त्यसैले यो अवधिमा श्राद्ध गरेर तिनीहरूलाई सन्तुष्ट पार्नु आवश्यक हुन्छ।
शास्त्रअनुसार पितृहरू चन्द्रलोकको दक्षिण भागमा बस्छन्। हाम्रो एक पक्ष (पक्ष = १५ दिन) पितृहरूको हुन्छ। चन्द्रलोकको दक्षिण भागमा रहेका पितृहरूका लागि कृष्णपक्ष श्रेष्ठ मानिन्छ। कृष्णपक्षको प्रतिपदादेखि व्रतको आरम्भ हुन्छ र औंसीको दिन व्रत सम्पन्न हुन्छ।
धार्मिक मान्यता छ कि यस अवधिमा गरिएको श्राद्ध, तर्पण, पिण्डदानले पितृहरूलाई सन्तुष्टि र शक्ति प्रदान गर्छ, किनभने त्यो समयमा उनीहरूको प्रमुख पूजा हुन्छ।
ज्योतिषशास्त्रअनुसार पृथ्वी लोकमा सूर्य कन्या राशिमा रहँदा र चन्द्रमा भाद्रपद महिनाको पूर्णिमा सकिँदा पितृपक्ष पृथ्वीमा प्रवेश गर्छन्। यो महिना हाम्रो पूर्वजहरूले पूरा वर्षभर प्रतीक्षा गरेको हुन्छ।
पितृहरू गयाद्वारा दक्षिण दिशामा आफ्ना मृत्यु तिथिमा आफ्नै घर नजिक आउँछन् र त्यहाँ तर्पण, अन्न आदि ग्रहण गरेर प्रसन्न भई नयाँ पिढीलाई आशीर्वाद दिएर फर्कन्छन्। यस्तो वर्णनलाई श्राद्ध महात्म्य भनिन्छ।
त्यसैले, शास्त्र अनुसार छोराछोरी वा वंशजले आफ्ना पितृहरूको लागि धर्मअनुसार श्रद्धापूर्वक श्राद्ध गरेमा, तिनीहरूको पूर्ण इच्छापूर्ति हुन्छ।
पितृऋण र छोराको कर्तव्य
प्रत्येक सन्तान, विशेषतः पुत्र, आफ्नो जीवनमा आमाबाबाबाट प्राप्त लालनपालन, शिक्षादीक्षा, संस्कार र संरक्षणको ऋणी हुन्छ। यस 'पितृऋण' लाई तिर्ने सबैभन्दा पवित्र उपाय भनेको जीवितावस्थामा अभिभावकको सेवा गर्नु र मृत्यु पश्चात काजक्रिया, श्राद्ध तथा तर्पणजस्ता धार्मिक कार्य सम्पादन गर्नु हो।
शास्त्रले स्पष्ट रूपमा भनिएको छ— यदि छोराले श्रद्धापूर्वक श्राद्ध गर्छ भने पितृहरू प्रसन्न भएर आशीर्वाद दिन्छन्; तर श्रद्धा विहीन भावनात्मक रिक्ततामा गरिएको वा उपेक्षा गरिएको श्राद्धले पितृहरूलाई तृप्ति प्रदान गर्न सक्दैन। पुराणहरूमा वर्णित छ कि तिथि अनुसार आउने पितृहरू श्राद्ध नपाउँदा दुःखी भएर निराश भावमा फर्कन्छन् र त्यो दीर्घनिश्वासको असर वंशमा पर्ने गरी आर्थिक, सामाजिक र सन्तानसम्बन्धी समस्याहरू देखापर्ने विश्वास रहिआएको छ।
श्राद्धमा देखिने तर्क–वितर्क र यसको शास्त्रीय खण्डन
आजको शिक्षित समाजमा पिण्ड प्रदान गर्दा त्यो जसको लागि गरिएको हो, उसले कसरी ग्रहण गर्छ भन्ने जिज्ञासा उठ्न सक्छ। 'निर्णयसिन्धु' र 'हेमाद्रिवृहद्धर्मशास्त्र'जस्ता ग्रन्थहरूमा यसको विश्लेषण गरिएको छ। शास्त्रका अनुसार, नाम, गोत्र र मन्त्रद्वारा युक्त अर्पण गरिएको पिण्ड पितृगणहरूले आफ्नो अवस्था, योनि र लोकअनुसार उपयुक्त स्वरूपमा ग्रहण गर्छन्। चाहे देव योनि, पशु योनि, नाग, राक्षस वा मानव योनिमा रहेको किन नहोस्, पिण्ड वस्तु उनीहरूले आफ्नो अस्तित्व अनुसार अन्न, जल, वायु, आमिष आदि स्वरूपमा ग्रहण गर्न सक्ने व्यवस्था स्वयम् पितृदेवताहरूले गरेका छन्।
यसले यो स्पष्ट गर्छ कि श्राद्ध अन्धविश्वास होइन, बरु श्रद्धा र विश्वासपूर्वक गरिएको कर्मयोग हो जसले आत्मीयतासँगै आध्यात्मिक उन्नतिको मार्ग पनि प्रदान गर्छ।
गीताको सन्दर्भमा कर्म र श्राद्धको सम्बन्ध
भगवान श्रीकृष्णले गीता अध्याय ३ मा अर्जुनलाई कर्मको महत्त्व र अनिवार्यता सम्झाउँदै भन्नुभएको छ— “न मं कर्माणि लिम्पन्ति, न मे कर्मफले स्पृहा।” अर्थात् भगवान आफैँ कुनै कर्मबाट बन्धनमा रहनु हुन्न, तर पनि लोककल्याणको निम्ति अनवरत कर्म गर्दै रहनुहुन्छ।
हिन्दू धर्ममा कर्म तीन प्रकारका हुन्छन्— नित्य, नैमित्तिक र काम्य। यसमध्ये 'श्राद्ध' एक विशेष नैमित्तिक कर्म हो, जुन मृतात्माको मोक्ष, आत्मशान्ति र वंशको कल्याणको निम्ति अनिवार्य मानिएको छ। विशेषगरी आश्विन कृष्णपक्षमा गरिने सोह्रश्राद्धलाई 'महालय श्राद्ध' भनिन्छ, जसमा प्रत्येक तिथिमा आफ्नो पितृको सम्झनामा एकोद्दिष्ट पिण्डदान गरिन्छ।
श्राद्धको स्थान, विधि र सामग्रीको विवरण
श्राद्धको सामग्रीको विवरण हेर्नुहोस्
श्राद्ध गर्दा स्थान, पात्र र विधिको ठूलो महत्त्व हुन्छ। शास्त्रले स्पष्ट उल्लेख गरेका छन्— अर्काको जग्गा, खनजोत गरिएको भूमि, र गाई, गोरु, अश्व वा हात्ती बस्ने स्थानमा श्राद्ध गर्नु हुँदैन। शुद्धताका लागि कुषको आसन, नवीन धातु वा माटाका भाँडाहरू प्रयोग गर्नुपर्ने हुन्छ।
पारिवारिक उत्तरदायित्व र समाजमा श्राद्धको सन्देश
श्राद्ध केवल धार्मिक प्रक्रिया मात्र होइन; यो एउटा सामाजिक, पारिवारिक र नैतिक कर्तव्य पनि हो। पितृहरूले जीवनभर आफ्नो सन्तानलाई पालनपोषण, शिक्षादीक्षा र संरक्षण दिएका हुन्छन्। तसर्थ, छोराछोरीले पनि मातापिताको जीवित अवस्थामा सेवा र वृद्धावस्थामा संरक्षण गर्नु र मृत्यु पश्चात श्राद्धजस्ता कर्ममार्फत स्मरण गर्नु आफ्नो मूलभूत उत्तरदायित्व हो।
यदि श्रद्धाविहीनताका कारण श्राद्धको कार्यको उपेक्षा गरियो भने त्यसको प्रत्यक्ष–अप्रत्यक्ष असर समस्त वंशमा देखिन सक्ने कुरा पुराणहरूमा उल्लेख छ। यस्ता कार्यबाट टाढा रहँदा घरमा गरिबी, रोग, सन्तानहीनता, विघ्नबाधा जस्ता समस्याहरू उत्पन्न हुने विश्वास धार्मिक मान्यतामा पाइन्छ।
वर्तमान समाजले जति नै आधुनिकताको उपासना गरे तापनि आफ्नो संस्कार, परम्परा र कर्तव्यको मूल मर्म नबिर्सनु अत्यन्त आवश्यक छ। श्राद्ध केवल एउटा धार्मिक अनुष्ठान नभई हाम्रो पितृसंस्कृतिको सम्मान, कर्तव्यबोध र आत्मिक उन्नतिको माध्यम हो। जसरी जापानीहरू पितृलाई श्रद्धाका साथ दैनिक सम्झन्छन्, त्यसैगरी हामी हिन्दूहरूले आफ्नो एक वर्षको एक दिन, अर्थात् आश्विन कृष्णपक्षमा वा मरण तिथि अनुसार श्राद्ध कर्म गर्नुपर्दछ। यसले मात्र पितृऋण तिर्न सकिन्छ, परिवारमा शान्ति, समृद्धि र पुण्यको सञ्चय हुन्छ।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

